गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

आर्थिक लाइभ
आर्थिक लाइभ १६ फाल्गुन २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको भन्दै अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको आयोगको दावी छ ।

यससँगै निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरु उपर ४२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी विगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जानकारी गराएको छ ।

त्यसैगरी अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविकभन्दा बढी काम सम्पन्न भएको भनि गलत प्रतिवेदन पेश गरेको भेटिएको छ ।

साथै, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरित काम गरेको पाइएको छ । उनीहरुले फिल्डमा वास्तविक भएकोभन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई ४२ लाख २९ हजार रुपैयाँ भुक्तानी माग गरी सरकारी रकम हानीनोक्सानी पुर्याएको अख्तियारको ठहर छ । अख्तियारले उनीहरुविरूद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array