बैंकिङ कसुरमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित १० जना बैंकर्स पक्राउ

आर्थिक लाइभ
आर्थिक लाइभ १५ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले न्यौपानेलाई पक्राउ गरेको हो । उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतम पनि पक्राउ परेका छन् ।

ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएकी छन् । प्रभु बैंकमा गाभिएको साविकको सेञ्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा ठूलै कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

सेञ्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेञ्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए । लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

उनीहरुसहित अरु १० जना पनि पक्राउ परेका छन् । बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्यूरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक बैंकिङ कसुर ऐनअन्तर्गत अनुसन्धान भइरहेको बज्राचार्यको भनाइ छ । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यस अघिका सीईओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप सीआईबीको छ ।

१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको थियो । १० अर्बको बैंकमध्ये झन्डै २ अर्ब रुपैयाँ समस्याग्रस्त देउराली सहकारीसँग सम्बन्धित रवीन्द्र चौलागाई तथा उनको कम्पनीहरूलाई ऋणमा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array