किवी खेतीको लगानीमा प्रतिफल ८० प्रतिशतसम्म, ६१ प्रतिशत किसानद्वारा कर्जा बिनै व्यवसायिक खेती

आर्थिक लाइभ
आर्थिक लाइभ २१ माघ २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं । व्यवसायिक किवी खेतीमा लगानीको प्रतिशत ८० प्रतिशतसम्म हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले कोसी प्रदेशमा गरेको अध्ययन अनुसार किबीको व्यवसायिक खेती गर्दा लगानीमा प्रतिशत औसतमा पनि ५१.४ प्रतिशत रहेको अध्ययनले देखाएको हो ।

केन्द्रीय बैंकको अध्ययन अनुसार कोसी प्रदेशमा किवी खेती गर्दा समग्र लगानीमा प्रतिफल दर ५१.४ प्रतिशत रहेको छ । जिल्लागत रुपमा उक्त दर सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी ७९.८ प्रतिशत र सबैभन्दा कम धनकुटा जिल्लामा १८.१ प्रतिशत देखिएको छ । सोलुखुम्बु जिल्लाको कुल उत्पादन लागत न्यून आएकोले सो जिल्लामा लगानीमा प्रतिफल दर उच्च रहन गएको अध्ययनमा उल्लेख छ ।

सरकारले कोसी प्रदेशको इलाम जिल्लालाई किवी जोन भनेर घोषणा गरेको छ । तर, कोसी प्रदेशको इलाममा मात्र नभई अन्य जिल्लाहरूमा पनि व्यवसायिक किवी खेतीको विकास भएको छ ।

किवी किसानमध्ये ५ देखि १० वर्षको अवधिदेखि संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत छ । १० देखि १५ वर्षको अवधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत छन । किवी किसानमध्ये ४२.४ प्रतिशतले ५ रोपनी भन्दा कम क्षेत्रफलमा किवी खेती गरेका छन् भने १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेका छन् ।

किवी खेती गर्ने किसानमध्ये साक्षर किसानको संख्या ७२.९ प्रतिशत रहेको अध्ययनले देखाएको छ । कोसी प्रदेशका किवी किसानमध्ये ५६.३ प्रतिशत किसानले मात्र औपचारिक रुपमा व्यवसाय दर्ता गरी खेती गरेका छन् । माटो परिक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत छ । बहुसंख्यक किसानहरूले माटो परिक्षण नगरी व्यवसाय गर्ने गरेको अध्ययनले औँल्याएको छ ।

किवी किसानमध्ये ६९.४ प्रतिशत किसानहरूले किवी खेती सम्बन्धी कुनै न कुनै प्रकारको तालिम वा प्रशिक्षण प्राप्त गरेको देखिएको छ । उक्त प्रदेशका ५४.९ प्रतिशत किसानहरूले सरकारी निकायबाट किवी सम्बन्धी अनुदान प्राप्त गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको, अनुदानको प्रभावकारी अनुगमन हुन नसकेको जस्ता कारणले अनुदान प्राप्त गरेका र नगरेका किसानबीच उत्पादकत्वमा भिन्नता नरहेको अध्ययनबाट देखिएको छ ।

कोसी प्रदेशका किवी खेती गर्ने किसान मध्ये १२.५ प्रतिशत किसानहरूले मात्र कृषि सम्बन्धी सहुलियतपूर्ण कर्जाको उपयोग गरेको देखिएको छ । साथै अधिकांश किसानहरूले सहुलियतपूर्ण कर्जाको माग गरेपनि नपाएको गुनासो गरेका छन् ।

किवी किसान मध्ये ६१.१ प्रतिशत किसानहरूले कुनैपनि कर्जा लिएका छैनन । तर २५ प्रतिशत किसानहरूले बैंक तथा वित्तीय संस्था लगायत अन्य सङ्गठित संस्थाबाट कर्जा लिएका छन् । अनौपचारिक क्षेत्रबाट कर्जा लिने किसानको संख्या १३.२ प्रतिशत रहेको देखिएको छ । व्यवसायको स्थापना र विस्तार गर्न पटकपटक बैंक तथा वित्तीय संस्थामा कर्जा माग गर्दै आएपनि लामो कागजी प्रक्रिया, विद्यमान धितो मूल्यांकन प्रणालीमा आधारित कर्जा प्रवाह, कर्जाको भुक्तानी अवधि र व्यवसायको आम्दानी प्रारम्भ हुने अवधिबीचको भिन्नता जस्ता कारणले कर्जा प्राप्त गर्न कठिनाइ भएको गुनासो उनीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

Array