काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । निर्यात प्रर्वद्धन गरेर व्यापार घाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको उनले बताए ।
निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन् ।

‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ,’ उनले भने, ‘नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भएपनि अपेक्षित लाभ लिन सकिएको छैन ।’ यस्तै निर्यात प्रर्वद्धनका लागि ‘अनलाईन गेटवे’ प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए ।

‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ,’ उनले भने, ‘मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ ।’
यस्तै, नेपालका सातै प्रदेशमा एक्सपोर्टहाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिएका थिए ।




प्रतिक्रिया दिनुहोस्