बैंक वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैंकले सहजीकरण गरिरहेको छः गर्भनर

आर्थिक लाइभ
आर्थिक लाइभ १० माघ २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैङ्कको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको र निकै खराब अवस्था व्यहोरिरहेको वाणिज्य बैङ्क अहिले निकै व्यावसायिक र प्रतिस्पर्धी बनेको गभर्नर अधिकारीले बताउनुभयो ।

बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै  उहाँले भन्नुभयो, “अर्थतन्त्रमा निकै राम्रो अवस्था हुँदै गएको छ । बाह्य क्षेत्रमा सुधार छ । बैङ्क तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन् ।”

बैङ्क वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन नियामक निकाय नेपाल राष्ट्र बैङ्कले विभिन्न किसिमका ‘प्रोभिजनिङ’ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको उहाँले बताउनुभयो । “बैङ्क वित्तीय संस्थाको नाफा केही घटेको जस्तो देखिन्छ । घट्नुको कारण प्रोभिजनिङ हो । असल कर्जा दिँदा पनि अनिवार्य प्रोभिजनिङ गर्नैपर्छ । दिगो र सुरक्षित बैंकिङका लागि राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो”, गभर्नर अधिकारीले भन्नुभयो । पछिल्लो समय मुलुकको समग्र आर्थिक स्थिति शिथिल हुँदा कर्जा असुलीमा केही समस्या देखिएको गभर्नर अधिकारीले बताउनुभयो ।

बैङ्क वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैङ्कले नीतिहरुमा सहजीकरण गरिरहेको उहाँले बताउनुभयो । “नीतिगत दर घटाइएको छ । तरलताको अवस्था निकै राम्रो छ । लगानी गर्नसक्ने अवस्था रहेको छ । बाह्यक्षेत्रतर्फ हामीसँग विदेशी मुद्रा सञ्चितीको अवस्था राम्रो छ । कर्जाको माग क्रमशः बढ्दै जानेछ भन्ने अपेक्षा हामीले गरेका छौं”, उहाँले भन्नुभयो, “अहिले नै वाणिज्य बैङ्कले दश दशमलव पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ । अब अधिकांश वाणिज्य बैङ्कले एकल अङ्कको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने अवस्था आउँदैछ । यसकारण कर्जाको माग पनि बढ्नेछ भन्ने अपेक्षा हाम्रो छ ।”

प्रतिक्रिया दिनुहोस्