गण्डकी प्रदेशका उद्योगको औसत उत्पादन क्षमतामा सुधार, औद्योगिक क्षेत्रतर्फ साढे ३७ अर्ब कर्जा प्रवाह

आर्थिक लाइभ
आर्थिक लाइभ २२ पुष २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौं । गण्डकी प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमतामा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग २.२ प्रतिशत विन्दुले बढेको हो ।

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ४५.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४३.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा प्रशोधित दुध, तोरीको तेल, चकलेट, सिमेन्ट र चुरोटको उत्पादनमा वृद्धि भएको छ भने बिस्कुट, चाउचाउ, इट्टा, लिक्वीड र क्याप्सुलको उत्पादनमा ह्रास आएको छ ।

यस्तै २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको १०.६ प्रतिशत अर्थात् ३७ अर्ब ४९ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन्।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन २०७९ असार मसान्तको तुलनामा १९.२८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने ०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ५५ अर्ब १५ करोड पुगेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३.७४ प्रतिशतले वृद्धि भएको अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ६.१ प्रतिशत रहेको थियो ।

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा पर्यटकको आगमन १९ हजार ८ सय ५० रहेकोमा समीक्षा अवधिमा झण्डै १६३.४७ प्रतिशतले विस्तार भई ५२ हजार २ सय ९९ पुगेकाले सेवा क्षेत्र विस्तार हुँदै गएको देख्न सकिन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकरात्मक प्रभाव देखिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशका ११ जिल्लाहरूमा प्रमुख कृषि बालीहरूले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब २.६८ प्रतिशतले ह्रास आई ४ लाख ७५ हजार ६३३ हेक्टर कायम भएको छ।

मसलाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बाली, तरकारी र फलफूलको खेती गरिएको क्षेत्रफल घटेकाले समग्रतामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफलमा २.६८ प्रतिशतले ह्रास आएको छ । यस्तै तरकारीले ढाकेको क्षेत्रफल ०.७६ प्रतिशतले र फलफूलले ढाकेको क्षेत्रफल १.१६ प्रतिशतले घटेको छ भने मसलाबालीले ढाकेको क्षेत्रफल ४.५५ प्रतिशतले वृद्धि भएको छ ।

असार मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा १ अर्ब ४५ करोड कर्जा लगानी गरेका छन् । जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८ प्रतिशत रहेको छ ।

कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्ड करिब ४० प्रतिशत र बेनी जोमसोम खण्डको भौतिक प्रगति करिब ७५ प्रतिशत रहेको छ । त्यसैगरी, तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति ४१.५ प्रतिशत र ४०.०२ प्रतिशत वित्तीय प्रगति भएको छ।

यस प्रदेशका ८२ स्थानीय तहहरूले आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । सो अन्तर्गत सञ्चालित १ हजार ५ सय ८४ आयोजना मार्फत कुल ७ हजार ४ सय २८ व्यक्तिले औसतमा ७६ दिन रोजगारी पाएका छन्।

गण्डकी प्रदेशमा पर्यटक आगमन तथा कृषि उपजको उत्पादनमा वृद्वि भएको कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष (२०८०/८१)मा समग्र आर्थिक क्रियाकलाप थप विस्तार हुने प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array