बजार मागमा अपेक्षित सुधार हुन सकेनः सिएनआइ

आर्थिक लाइभ
आर्थिक लाइभ १६ पुष २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं । अर्थतन्त्रमा समस्या देखाउँदै चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा ५५.३२ प्रतिशत उद्योगीले लगानी विस्तारको योजना स्थगन गरेका छन् । नेपाल उद्योग परिसंघले अर्थतन्त्रको वास्तविक अवस्थाबारे सर्वेक्षण गरी सोमबार सार्वजनिक गरेको हो ।

उक्त सर्वेक्षणको नतिजाअनुसार गत वर्ष यस्ता लगानीका योजनाहरू ६९.४४ प्रतिशत उद्योगीले स्थगित गरेका थिए । यो वर्ष केही घटेको तथ्यांकले देखाएको छ । लगानी विस्तार योजना गत वर्षको तुलनामा यो वर्ष घटेको भएपनि व्यवसायीको मनोबल भने कमजोर नै रहेको बताएको छ ।

सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा गत वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ को सोही अवधिको तुलनामा २०८०/०८१ मा उद्योगहरूको समग्र मागमा ३६.९३ प्रतिशतले संकुचन आएको छ ।

उद्योगको कारोबार रकम गत वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा कारोबार रकम ३०.५४ प्रतिशतले खुम्चिएको छ ।

सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाएअनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशतले संकुचन आएको छ । गत वर्षको सोही समयमा सिमेन्टको मागमा ४०.१७ प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सिमेन्टको मागमा ४४.५७ प्रतिशतले कमी आएको सर्वेक्षणले देखाएको छ । सिमेन्ट उद्योगको कारोबार रकम ३९ प्रतिशतले संकुचन आएको छ । चालु आर्थिक वर्षको सोही अवधिमा थप ९.५४ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा ६२.५० प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको बताएका छन् । यस क्षेत्रको समग्र माग गत वर्षको तुलनामा १६.२० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array