बैंक तथा वित्तीय संस्थाको नाफा ८ अर्बले बढ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ३ पुष २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एक महिनामा करिब ८ अर्बले खुद नाफा बढाएका छन् । बैंक तथा वित्तीय संस्थाले छुट्याएको जोखिम व्यवस्थाको फिर्ता र रिकभरी फ्रर्म लोन रिटर्न अफ बढेपछि नाफा बढाएका हुन् ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ७ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्ममा बैंक वित्तीय संस्थाको खुद नाफा १४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ रहेको थियो । यो नाफा कात्तिक महिनामा ५२.१९९ प्रतिशतले बढेर २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

बैंक वित्तीय संस्थाले कात्तिक महिनामा गरेको नाफा गत आवको सोही अवधिको तुलनामा भने १८ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा २७ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको कात्तिम महिनामा बैंक वित्तीय संस्थाको कर्जा जोखिम व्यवस्था बाट फिर्ता भएको रकममा उल्लेख्य सुधार आएको छ । कोरोना महामारी तथा आर्थिक मन्दीका कारण बैंकहरुले प्रबाह गरेको कर्जा नउठ्ने समस्या बढेको थियो । त्यसका लागि बैंक वित्तीय संस्थाले ठूलो मात्रामा कर्जा जोखिम व्यवस्था गरेका थिए । चालु आर्थिक वर्ष सुरु भएसंगै बैंकहरुले कर्जा लगानी भन्दा पनि असुलीलाई प्राथमिकतामा राखेपछि जोखिम व्यवस्थाबापतको रकम फिर्ता हुने क्रम बढेको हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाले जोखिम व्यवस्थाबाट फिर्ता गरेको रकम १२ अर्ब २१ करोड ५० लाख रुपैयाँ बराबरको छ । चालु आवको असोज महिनामा यस्तो रकम ११ अर्ब ८२ करोड थियो । गत आर्थिक वर्षको सोही अवधिमा जोखिम व्यवस्थाबाट भएको फिर्ता ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ मात्र थियो । त्यसैगरी चालु आवको कात्तिकसम्ममा रिकभरी फ्रर्म लोन रिटन अफ बापतको रकम ५ करोड ७० लाख रुपैयाँ बरावरको छ ।

चालु आवको कात्तिकमा बैंकहरुको ब्याज आम्दानी पनि बढेको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक वित्तीय संस्थाको कुल ब्याज अम्दानी २ खर्ब ३५ अर्ब रुपैयाँ भन्दा धेरै रहेको छ । गत असोजमा बैंक वित्तीय संस्थाको ब्याज आम्दानी एक खर्ब ७८ अर्ब थियो भने गत आवको कात्तिक महिनामा एक खर्ब ९३ अर्ब रुपैयाँ थियो । चालु आवको असोजको तुलनामा कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाको फि कमिसन, गैर सञ्चालन तथा विदेशी विनिमयको कारोबारबाट हुने आम्दानी बढेको छ ।

चालु आवको कात्तिकसम्म वाणिज्य बैंकहरुको खुद नाफा २० अर्ब ७३ करोड रहेको छ । गत असोजमा बैंकहरुको नाफा १३ अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो । गत आवको सोही अवधिमा बैंकहरुको खुद नाफा २५ अर्ब ३२ करोड रुपैयाँ थियो ।

त्यसैगरी चालु आवको कात्तिकसम्ममा विकास बैंकहरुको कुल नाफ एक अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको छ । यो नाफ चालु आवको असोजको तुलनामा धेरै हो । असोजमा विकास बैंकहरुको खुद नाफा एक अर्ब १८ करोड ३० लाख रुपैयाँ मात्र थियो । गत आवको कात्तिकसम्ममा विकास बैंकहरुको कुल नाफा एक अर्ब ८६ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array