शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घट्यो, बैंक दर र नीतिगत दरमा पनि सुधार

आर्थिक लाइभ
आर्थिक लाइभ २२ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिको समीक्षाले शेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । बैंक दरलाई पनि ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।
५० लाखभन्दा बढी शेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार १५० प्रतिशत थियो । ५० लाख मुनिको शेयर धितो कर्जाको जोखिमभार भने १०० प्रतिशत कायम छ । शेयर धितो कर्जामा जोखिम भार घटाएर शेयर बजारलाई चलायमान बनाउने लक्ष्य मौद्रिक नीतिको समीक्षाले लिएको छ । ५० लाखभन्दा बढीको घरजग्गा कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमा झारिएको छ ।
यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । ५० लाख सम्मको आवास कर्जा लिँदा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गर्ने व्यवस्था पनि गरिएको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत मात्रै थियो ।
यसैगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो ।
बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array