शोधानान्तर स्थिति १ खर्बले बचतमा

आर्थिक लाइभ
आर्थिक लाइभ २४ कार्तिक २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेकोमा यस वर्ष थप सकारात्मक देखिएको हो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले घटेर १ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

२०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले बढेर २०८० असोज मसान्तमा १६४३ अर्ब ९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले बढेर १४३३ अर्ब ३६ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्धि भई २०९ अर्ब ७३ करोड कायम भएको छ।

२०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०-८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्