काठमाडौं । दशैंमा बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको हाे ।

साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको छ । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटहीको व्यवस्था गर्छ । यस वर्ष पनि साना दरका ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट सटहीको व्यवस्था गरेको थियो । साथै दशैंमा दक्षिणा र चाडपर्वका लागि गाउँ जानेले ठूलो रकम लिएर जाने भएकोले दशैं तिहारमा हरेक वर्ष बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने गरेको छ ।

दशैं सकिए पनि तिहार र छठ पर्व आउँदै भएकाले उक्त रकम बैंकिङ प्रणालीमा फर्किन मंसिरसम्म लाग्नसक्ने राष्ट्र बैंकले जनाएकाे छ ।




प्रतिक्रिया दिनुहोस्