नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयबाट क्युआर भुक्तानी प्रणालीको शुरुवात

आर्थिक लाइभ
आर्थिक लाइभ १८ आश्विन २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं । बुधबारदेखि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुबाट संकलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।

सो सम्बन्धमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुबेदीले एक कार्यक्रमबीच आफ्नो आन्तरिक विल फछर्यौट गर्ने क्रममा कार्यालयलाई बुझाउनुपर्ने रकम क्युआर माध्यमबाट बुझाएर विद्युतीय भुक्तानीको औपचारिक रुपमा शुरुवात गर्नुभएको हो ।

यससँगै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयबाट सर्वसाधारणले भारतीय मुद्रा लगायत अन्य विदेशी मुद्रा र सिक्का खरिद गर्दा वा रु पाँच देखिमाथिको दरका सुकिला तथा नयाँ नोट लिँदा अबदेखि ग्राहकले आफ्नो साथमा नगद लानुपर्ने आवश्यकता नपर्ने भएको छ । यो सुविधा पाएपछि सेवाग्राहीले विभिन्न बैंकको एटिएममा धाएर रकम लिनुको सट्टा कार्यालय खुलेको समयमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयमा गई निःशुल्क रुपमा क्युआर प्रयोग गरी आफूले चाहेको दरको नोट लिनसक्ने भएका छन् । यसबाट एउटा बैंकको खातावालले अर्को बैंकको एटिएम प्रयोग गर्दा तिर्नुपर्ने शुल्क बचत हुने भएको छ ।

नेपालमा हुने सम्पूर्ण कारोवारहरुलाई क्रमशः नगदरहित बनाई सुरक्षित, सर्वसुलभ र भरपर्दो विद्युतीय माध्यमबाट कारोवार गर्न नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुदेखि नै प्रयास गरिरहेको र ती प्रयासबाट हालसम्म उल्लेख्य उपलब्धी समेत हाँसिल भएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट लिनुपर्ने रकम पनि सुरक्षित र भरपर्दो विद्युतीय माध्यमबाट लिन सकिने गरी व्यवस्था गर्न शुरु गरेको निर्देशक सुबेदीले बताउनु भयो । विद्युतीय भुक्तानीका विभिन्न उपकरणहरुमध्ये ग्राहकको मोवाइल एप वा मोवाइल वालेट प्रयोग गरी क्युआर स्क्यानमार्फत गरिने भुक्तानीलाई ग्राहकले अत्यधिक रुचाएको बुझिएकोले नेपाल राष्ट्र बैंकका अन्य विभाग तथा कार्यालय लगायत सिद्धार्थनगर कार्यालयले समेत क्युआर माध्यमलाई रोजेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालमा क्युआर माध्यम मार्फत हुने कारोवारलाई स्वीकार गरी सम्बन्धित बैंकको खातामा रकमान्तर गर्न दुईवटा कम्पनी फोन पे र नेपाल पे ले इजाजत लिएका र अधिकांश बैंक तथा वित्तीय संस्थाहरु ती कम्पनीहरुमा आवद्ध भएकोले ग्राहकको सुविधालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले दुईवटै कम्पनीको क्युआर राखेको छ । यसका लागि कार्यालयले एनआइसी एसिया बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडसँग सम्झौता गरेको छ । सेवाग्राहीले आफ्नो बैंकको मोवाइल एप वा मोवाइल वालेट मार्फत कार्यालयमा राखिएको फोन पेको क्युआर प्रयोग गरी भुक्तानी गरेमा एनआइसी एसिया बैंक लिमिटेडसँग हिसाव मिलान हुने र नेपाल पे को क्युआर प्रयोग गरी भुक्तानी गरेमा माछापुच्छ्रे बैंक लिमिटेडसँग हिसाव मिलान हुने गरी व्यवस्था मिलाईको छ । दुईवटा क्युआर सेवा प्रदायकको उपस्थितिका कारण कुनै एउटामा समस्या आएमा सेवाग्राहीले अर्को क्युआरबाट कारोवार गर्नसक्ने र यसबाट सेवाग्राहीलाई सहज हुने कार्यालयले जनाएको छ । साथै, सबै बैंक तथा वित्तीय संस्था र सबै मोवाइल वालेट दुईवटै क्युआरमा आवद्ध भइ नसकेकाले आवद्ध नभएको मोवाइल एप वा वालेटबाट क्युआर स्क्यान गर्दा स्क्यान नहुने समस्यालाई समेत कार्यालयले दुईवटै क्युआर राखी समाधान गरेको निर्देशक सुबेदीले बताउनुभयो ।

सुकिला नोट प्रयोग गर्न अपिल

दशैं लगायतका चाडपर्वको पूर्वसन्ध्यामा वितरण गरिने नयाँ नोटमा अविर/अक्षेता लाग्ने, पानीमा भिज्ने, तेल लाग्ने, जल्ने जस्ता कारणहरुबाट ती नोटहरु चलनचल्ती अयोग्य हुने र बैंकिङ्ग प्रणालीमा आउनासाथ नष्ट गर्नुपर्ने भएकोले ठूलो विदेशी मुद्रा खर्च गरी छपाईएको नेपाली नोटको अधिकतम सुरक्षा हुनेगरी जतनसाथ उपयोग गर्नुपर्नेमा निर्देशक सुबेदीले जोड दिनुभयो ।

यसैगरी, विगतका वर्षहरुमा वितरण गरिएको नोटहरुमध्ये अधिकांश नोटहरु एकपटक मात्र प्रयोग भई नेपाल राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेको र लामो समयसम्म त्यतिकै रहँदा ढुकुटीमै काम नलाग्ने अवस्थामा पुग्नसक्ने सम्भावना भएकोले सकेसम्म सफा नोटको माग गर्न समेत वहाँले अपिल गर्नुभयो । यसबाट नेपाली नोट लामो समयसम्म चलाउन सकिने र नोट छपाइ गर्ने समय अन्तराललाई बढाउन मद्दत पुगी नोट छपाइ र वितरणमा लाग्ने स्वदेशी र विदेशी मुद्रा बचत गर्न सहयोग पुग्ने धारणा वहाँले राख्नुभयो ।

तथापि, सदाँझै यसपाली पनि यही असोज २९ देखि कात्र्तिक ३ गतेसम्म सर्वसाधारणलाई लक्षित गरी रु पाँच देखि रु १०० सम्मको एक/एक प्याकेट प्रति व्यक्तिलाई नयाँ नोट सटही गरिने व्यवस्था मिलाईएको र यसका लागि सम्भव भएसम्म क्युआरबाट सटही गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array