काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै विदेशी विनिमय सञ्चित करिब ३४ अर्बले बढेर १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी विनियम सञ्चिति २.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउनमा विदेशी विनियम सञ्चिति ११ अर्ब ८५ अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । असारमा ११ अर्ब ७१ करोड रहेकोमा १ महिनामा १.२ प्रतिशतले बढेको हो । २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
२०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९.२ प्रतिशत, कुल आयातसँगको अनुपात ८५.७ प्रतिशत, विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु २६.३ प्रतिशत रहेको छ ।
२०८० असार मसान्तमा कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २८.६ प्रतिशत, कुल आयातसँगको अनुपात ८३ प्रतिशत, विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु २५.१ प्रतिशत थियो ।




प्रतिक्रिया दिनुहोस्