काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा) ले अबदेखि कुनैपनि परियोजनामा ५० करोड रुपैयाँ माथिको लगानी गर्दा लगानी गर्ने कम्पनीको क्रेडिट रेटिङ अनिवार्य हेर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राको नाममा शुक्रवार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
‘पूर्वाधार विकास बैंकले रु.५० करोड वा सो भन्दा बढीको कर्जा उपभोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संख्याको क्रेडिट रेटिङ एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ’ केन्द्रीय बैंकद्वारा जारी निर्देशनमा भनिएको छ । यस्तो व्यवस्था यसअघि थिएन ।

साथै पूर्वाधार विकास बैंकले ब्याज आम्दानीको लेखाङ्कन गर्दा राष्ट्र बैंकबाट जारी भएको गाइडलाइन अन रिकोनाइजेशन अफ इन्ट्रेस्ट इनकम, २०१९ बमोजिम गर्नुपर्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।
पूर्वाधार विकास बैंकले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरूको समूहलाई प्रदान गर्न सक्ने कर्जाको तोकिएको अधिकतम सीमालाई एकल ग्राहक सीमा व्याख्या गरेको छ । व्यवस्थाले तोकेको एकल ग्राहक सीमा भन्दा बढी कर्जा वितरण नगर्न समेत केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई सचेत गराएको छ ।
हाल पूर्वाधारको क्षेत्रमा काम गर्ने गरी एउटा मात्र ‘नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्