सीमापार व्यापारका लागि नाका पूरै खोल्ने तयारी

आर्थिक लाइभ
आर्थिक लाइभ १५ चैत्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कार्यसंयन्त्रको पहिलो बैठक सकिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको बैठकमा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र तिब्बत सरकारका कार्यकारी उपप्रमुख चेन योङ्ग्सी सहभागी थिए।
बैठक द्विदेशीय जनतालाई आवतजावत गर्न दिने र सीमापार व्यापारलाई पुनः पूर्ण क्षमतामा सुरु गर्नेबारे केन्द्रित भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। बैठकमा द्विदेशीय सीमा व्यापार र सहकार्य, सुख्खा बन्दरगाह, भन्सार सहकार्य, सीमा क्षेत्रको विकास, व्यापार पूर्वाधारलगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ। दुवै पक्ष अप्रिल १ बाट रसुवागढी–केरुङ नाकाबाट द्विपक्षीय व्यापार र दुवै देशका जनतालाई आवतजावतका लागि आवश्यक सहकार्य गर्न सहमत भएका छन्।
त्यसैगरी मे १ तारिखबाट सिन्धुपाल्चोकको तातोपानी–झाङमुबाट दुवैतिरबाट व्यापार र मानव आवतजावत तथा यारी–पुलाङबाट यात्रुलाई हिँड्ने दिने सहमति समेत भएको छ।
यसबाहेक नेपालको आग्रहमा चिनियाँ पक्षले नेपाल–चीन सीमाक्षेत्रमा बहुकार्यमूलक प्रयोगशाला स्थापना गर्न सकारात्मक देखिएको दूतावासले जनाएको छ। चीनले बैठकका दौरान सीमा वारपार विशेष आर्थिक क्षेत्र स्थापना गर्न नेपालले दिएको सुझावको पनि स्वागत गरेको छ।
बैठकमा नेपालले नेचुङ–लिजी सीमा बिन्दुमा नेपालपट्टि पूर्वाधार निर्माणका लागि प्राविधिक र वित्तीय सहयोगको समेत आग्रह गरेकोमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ।
चिनियाँ पक्षले मौसमी सीमा व्यापार विन्दु नेपाल–चीन सीमामा खोल्न प्रतिवद्धता जनाएको छ।बैठकमा दुवै पक्षले दुवै देशले गर्न सक्ने सहकार्यका क्षेत्रबारे पनि गहन छलफल भएको थियो। तिनमा नेपालबाट चीनतर्फ हुनसक्ने कृषि तथा पशुपन्छीजन्य उत्पादन, साइट्रस फ्रुट, ड्राइड मिट र जडीबुटी निर्यातबारे पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्