वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब

आर्थिक लाइभ
आर्थिक लाइभ ५ चैत्र २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना(साउनदेखि माघ मसान्तसम्म)को अवधिमा सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले ४१ अर्ब २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ३४ अर्ब ९९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । एक वर्षको अवधिमा बैंकहरुको नाफा १७.२४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा पाँच बैंकको नाफा घट्दा पनि समग्रमा भने बैंकहरूको नाफा वृद्दि आकर्षक देखिएको हो ।
७ महिना अवधिमा चार वाणिज्य बैंकहरुले तीन अर्ब बढी नाफा कमाएका छन् । २०७९ माघसम्ममा नबिल बैंकले सर्वाधिक ४ अर्ब १३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड ८९ लाख, ग्लोबल आईएमई बैंकले ३ अर्ब ५५ करोड ३५ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी माघसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र स्ट्याण्डर्ड चार्टड बैंकले २ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्दा बाह्र बैंकले एक अर्बभन्दा धेरै दुई अर्बभन्दा कम नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा प्राइम, एभरेष्ट, नेपाल बैंक, प्रभु, सानिमा, कुमारी, सिद्धार्थ, नेपाल एसबिआई, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे र सिटिजन्स बैंक इन्टरनेशनलले एक देखि दुई अर्बको बीचमा नाफा आर्जन गरेका हुन् ।
सनराइज, सिभिल र कृषि विकास बैंक गरी तीन वाणिज्य बैंकको नाफा भने एक अर्बभन्दा कम रहेको छ । माघसम्म सनराइज बैंकले ८६ करोड ६ लाख, सिभिल बैंकले ७७ करोड ७० लाख र कृषि विकास बैंकले १० करोड ६ लाख रुपैयाँ नाफा कमाएको तथ्याङ्क छ ।
राष्ट्र बैंकले उपलब्ध गराएको साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कलाई गत आवको सोही अवधिमा कमाएको नाफासँग तुलना गर्दा पाँच बैंकले ४० प्रतिशतभन्दा धेरैले नाफा बढाउँदा पाँच वटै बैंकको नाफा घटेको छ ।
गत आवको यसै अवधिको तुलनामा चालु आवको सोही अवधिमा एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल, नबिल बैंक, नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४० प्रतिशतभन्दा धेरै बढेको हो । समीक्षा अवधिमा एभरेष्ट बैंकले ८८.०२ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकले ६२.५७, नबिल बैंकले ५७.७३, नेपाल एसबिआई बैंकले ४४.२९ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४३.३० प्रतिशतले नाफा वृद्धि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array