छ महिनामा उठ्यो साढे ५६ अर्ब ऋण

आर्थिक लाइभ
आर्थिक लाइभ २ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९।८० को छ महिनामा ५६ अर्ब ४६ करोड रुपैयाँ ऋण उठाएको छ ।

अर्थ मन्त्रालयले  सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म ३० अर्ब आन्तरिक र २६ अर्ब ४६ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् ।

चालु आवका लागि सरकारले दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो ।

जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत व्यहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ ।

यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये १५ अर्बको एक वर्षे ट्रेजरी बिल, आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, दुई अर्बको तीन वर्षे विकास ऋणपत्र र पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन् ।

सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने ८३ अर्ब तीन करोड बराबर छ ।

चालु आवका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र दुई खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना थियो ।

गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ ।

तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array