घुस, सेवाशुल्क र बढी ब्याजको प्रलोभन, ट्याक्सीमा भएको सिन्सियरको लगानी चुलुम्मै !

आर्थिक लाइभ
आर्थिक लाइभ १६ माघ २०७९, सोमबार
9 Min Read
Aa

काठमाडौं । सिन्सियर सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडको २३ वर्षदेखिको ठगीधन्दा पर्दाफास भएपछि दुई हजार बढी सदस्य र ६ सय सेयर होल्डरले जम्मा गरेको रकम जोखिममा परेको छ । त्यहाँ बचतकर्ताले एक लाखदेखि ६ करोड रुपैयाँसम्म बचत गरेको पाइन्छ । सिन्सियरका अधिकांश बचतकर्ता उपत्यकाभित्रको रहेको पाइन्छ । बाहिरी जिल्लाका सर्वसाधारणले पनि त्यहाँ बचत गरेका छन् । सिन्सियरले मँहगो ब्याजमा कर्जा लगानी गर्छ भन्ने त अधिकांशलाई थाहा नै छ । व्यक्ति हेरेर सिन्सियरले २२ देखि ३६ प्रतिशत ब्याजमा लिन गरेको छ ।

कर्जा दिँदा सिन्सियरले दुई प्रतिशत सेवाशुल्क लिने गरेको छ । त्यस्तै, वर्षैपिच्छे कर्जा नवीकरण गर्न लगाउँदछ । सेयर, गाडी र घरजग्गा धितो राखेर एक करोड रुपैयाँ कर्जा दियो भने सिन्सियरले १० लाख रुपैयाँ त घुस नै खान्छ । त्यहाँका तीन हर्ताकर्ताले वर्षौंदेखि जनताको पैसामा रजाँइ गर्दै आएका छन् । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मिरा कर्माचार्य । सीधासाधी, अनपढ र पैसाको आवश्यकता परेकाको फाइदा यी तीनले उठाउँदै आएको छ । पहिल्यै मञ्जुरीनामा ल्याप्चे र हस्ताक्षर गर्न लगाउँछन् ।

यता, कर्जाको तमसुकमा पनि त्यही गरिन्छ । सिँधै यहाँ ल्याप्चे लगाउनु भन्छन् । ५० लाख कर्जा लिएको हुन्छ तर तमसुकमा ५५ लाख उल्लेख गरिएको हुन्छ । जुन ऋणीले पत्तो पाँउदैनन् । कानुनले मञ्जुरीनामा लेखिएको विषयमा आफू सन्तुष्ट भएमा मात्र ल्याप्चे लाउन वा हस्ताक्षर गर्न भनेको छ । तर, सिन्सियरले नपढेलाई अध्याँरोमा राखेर फाइदा उठाउँदै आएको छ । मञ्जुरीनामा लेखिएको हुन्छ,‘तीन किस्ता नतिरेमा मेरो लिलाम गर्नुस् । म कँहीकतै उजुरी गर्दिन् । सिन्सियरले कारोबार शुरु गरेको २३ वर्ष भइसकेको छ । यद्यपि, सिन्सियरले ऋण खानेको तीन पुस्ते सूचना राष्ट्रियस्तरको पत्रपत्रिकामा निकालेको छैन् ।

ऋणीको धितो लिलाम गर्नुअघि ३५ दिने कर्जा तिर्ने म्याद दिँदै पत्रिकामा प्रकाशित गर्नुपर्ने प्रावधान छ । तर, आजसम्म सिन्सियरले ऋणीको नाममा ३५ दिने सूचना निकालेको भेटिँदैन् । सिन्सियरले अगाडि नै नेपाली कागज वा फोटोकपी पेपरमा ल्याप्चे र हस्ताक्षर गर्न लगाएको हुन्छ । तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले खाली पेपरमा आफ्नो पक्षमा लेख्छ । तीन किस्ता नतिर्नेबित्तिकै रोक्का गरेको धितोबाट ऋणीको अधिकार हटाएर सिन्सियरले आफ्नो नाममा ल्याउँछ । मालपोत कार्यालयमा ऋणीलाई लगेर सम्पुर्ण प्रक्रिया पुर्याएर मात्र धितो आफ्नो नाममा ल्याउनुपर्ने सिन्सियरले त्यस्तो गर्दैन् ।

मञ्जुरीनामा पत्रकै आधारमा मालपोत कार्यालयले धितो सिन्सियरको जिम्मा लगाइदिन्छ । पछि ऋणीले साँवाब्याज तिर्छु, धितो फुक्का गरिदिनु भन्दा पनि सिन्सियरले गर्दैन् । सिन्सियरको सबैभन्दा धेरै लगानी थोत्रा, कबाडी र पूराना ट्याक्सीमा छ । यातायात ऐन, २०४९ मा उल्लेख भएअनुसार यातायात कार्यालयमा दर्ता भएका सार्वजनिक वा निजी सवारी बैंक, फाइनेन्स तथा सहकारीले लिलाम गर्न पाँउदैन् । गाडी कहिल्यै पनि लिलाम हुँदैन् । त्यो लिलाम गर्ने अधिकार वित्तीय संस्थालाई छैन् । सरकारले लिलाम गरेको खण्डमा मात्र त्यस सवारी साधनको दर्ता खारेज हुन्छ ।

तर, ट्याक्सी धितो राखेर कर्जा लिएका ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले ट्याक्सी तान्छ । यहाँ पनि सिन्सियरले पहिल्यै आफूमाथि पर्ने काम गरिसकेको हुन्छ । ‘तीन किस्ता नतिरे मेरो ट्याक्सी तान्नुस्’ भनेर सिन्सियरले अगाडि नै मञ्जुरीनामा गराइसकेको हुन्छ । गुण्डा लगाएर सिन्सियरले ट्याक्सी तान्छ र केही दिन लुकाएर राख्छ । अनि खाली पेपरमा लेख्छ,‘म नभएपनि ट्याक्सी सिन्सियरको नाममा पास गरिदिनुहोला । यो दाँयाबाँयाको ल्याप्चे मेरो हो । हस्ताक्षर पनि मेरो हो ।’ ऋणी नभईकन यातायात कार्यालयको ढड्डाबाट सिन्सियरले आफ्नो नाम कायम गर्दछ ।

त्यही ट्याक्सी अर्कोलाई बेच्ने वा अर्कोलाई ऋण भिडाउने काम हुन्छ । त्यहाँबाट पनि सिन्सियरले सेवाशुल्क लिन्छ, उसको लागि फेरिपनि कमाउने बाटो बन्छ । कति ट्याक्सी चालक वा ट्याक्सी व्यवसायलाई अझैपनि सरकारको नियम थाहा छैन् । उनीहरु गाडी त चलाउँछन् तर सार्वजनिक वा निजी सवारी साधन लिलाम हुँदैन् भन्ने विषयमा अन्जान छन् । गाडी लिलाम गर्नुपर्योमा दर्ता नै खारेज गर्नुपर्छ । जुन अधिकार वित्तीय संस्थालाई छैन् । अनि ऋणीको आँखामा धुलो झोक्दै सिन्सियरले लिलाम गरेको प्रष्टीकरण दिन्छ । सिन्सियरले स्थापनाकालदेखि नै ट्याक्सीमै लगानी गरेको छ ।

अहिलेपनि सातदेखि आठ सय ट्याक्सीमा सिन्सियरको लगानी छ । ट्याक्सी चालकहरुको आँखामा धुलो झोकेर सिन्सियरले राम्रो आम्दानी गरिरहेको छ । २०१६–२०१८ मोडलको १५ लाख पर्ने ट्याक्सी धितो राखेर सिन्सियरबाट १० लाख रुपैयाँ कर्जा लिनुपर्यो भने २५ हजार त घुस नै खुवाउनुपर्ने ट्याक्सी चालक बताउँछन् । त्यसमा पनि दुई प्रतिशत त सेवाशुल्क छुट्टै तिर्नुपर्छ । उसले भनेजत्ति सेवाशुल्क तिर्ने, ब्याज तिर्ने र घुस दिने व्यक्ति ऋण लिन आयो भने एक घण्टामै ट्याक्सी धितो राखेर कर्जा दिन्छ । राजेन्द्र, राजेश र मिरा घुस खान माहिर छन् भन्ने त सिन्सियरसंग कारोबार गरेका सबैलाई थाहा छ ।

घुस र बढी ब्याज खानका लागि सिन्सियरले आँखा चिम्लेर ट्याक्सीमा लगानी गर्यो । प्रायजसो थ्री–फोर मोडलको ट्याक्सीमा सिन्सियरको लगानी छ । यी सवारीको चल्ने अवधि कटिसकेको छ । २० वर्ष अवधि कटेका सवारी साधन विस्थापन गर्ने भनेर २०७१ भदौ २६ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । ०७१ फागुन १८ गते सो राजपत्रमा प्रकाशित भइसकेको छ । ०७२ चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले ०७३ फागुन १७ गतेदेखि २० वर्ष कटेका भाडाका सवारी साधनलाई विस्थापना गर्ने र ०७४ चैत १ गतेदेखि देशैभरिबाट आयु कटेका गाडी हटाउने भनेर कानुन बनाएर सरकारले कार्यान्वयनमा लगिसकेको छ ।

ट्राफिक प्रहरीहरुले समेत भाडाका गाडीको बिलबुक चेक गरेर धमाधम समात्न शुरु गरिसकेको छ । थ्री मोडलको ट्याक्सी २० पुगेर २१ वर्ष लाग्यो । फोर मोडलको गाडी २० वर्षमा दौडिरहेको छ । अहिले २० वर्षे पूराना गाडीहरु नामसारी हुँदैन् । सरकारले ती सवारीको जाँचपास, रोड परमिट, नवीकरण गर्दैन् । यी मोडलका ट्याक्सीहरु एक–डेढ लाखमा पनि बिक्री हुँदैनन् । बजारमा एक लाखमा पनि बिक्री नहुने ट्याक्सीमा सिन्सियरले १२ देखि १५ लाख कर्जा लगानी गरेको छ । आठ सयमध्ये सात सय ट्याक्सी यही मोडलकै छन् ।

घुस र सेवाशुल्कको पछि लागेका सिन्सियरका तीन हर्ताकर्ता यहाँ आएर चुलुम्मै डुबेका छन् । ट्याक्सी धितो राखेर कर्जा लिने ऋणीहरुले हात उठाइसकेका छन् । ऋणीले कर्जा तिर्न नसकेपछि सिन्सियरले भटाभटी त्यँही ट्याक्सीहरु भकाभक तान्दै ग्यारेजमा लगेर थन्काएर राखेको छ । सिन्सियरको लगानी सोत्तर भइसकेको छ । न २० वर्ष पूगेका सवारी साधनको कागजपत्र नवीकरण हुन्छ । न बाटोमा गुड्न पाँउछन् । बचतकर्ताहरुले समेत सिन्सियरको लगानी डुबेको क्रमिक रुपमा थाहा पाँउदैछन् । सिन्सियरका बचतकर्तालाई आफ्नो बचत थोत्रा ट्याक्सीमा छ भनेर जानकारी गराएको छैन् ।

कुन मोडलको ट्याक्सीमा कति लगानी छ ? बचतकर्तालाई सिन्सियरले भनेको छैन् । सिन्सियरको लगानी वालुवामा पानी हालेसरह भएको छ । पचाँसौं करोड जनताको बचत सिन्सियरले थोत्रा ट्याक्सीलाई कर्जा दिएको छ । थोत्रा ट्याक्सीमा भएको लगानी र सिन्सियरको कालो धन्दा पर्दाफास भएपछि बचतकर्तामा खैलाबैला मच्चिएको छ । उसले आफ्नो लगानी ट्याक्सीमा नभएको प्रष्टीकरण दिँदै आएको छ । सिन्सियरले पनि अन्य सहकारीझैं बचतकर्ताको बिल्लीबाठ बनाउने निश्चित भएको छ । सिन्सियरमाथि सहकारी विभागको निगरानी जरुरी देखिएको छ ।

सिन्सियरले ट्याक्सीमा भएको कर्जा नै उठाउन नसक्ने भएपछि बचतकर्ताको डिपोजिट कसरी फिर्ता गर्छ ? सिन्सियरमाथिबाट जनताको विश्वास गुम्दो छ । सिन्सियरका तीन हर्ताकर्तालाई रातमा निद्रा नलाग्ने र दिनमा भोक नलाग्ने संकेत देखिएको छ । सिन्सियरको वर्षौदेखि चल्दै आएको ठगीधन्दा सर्वसाधारणमा छर्लङ्ग भइसकेको छ । त्यहाँका तीन हर्ताकर्ता कार्यालय आउन छोडिसकेको बचतकर्ता बताउँछन् ।

सिन्सियरबाट ऋण खानेहरु त सुकुम्बासी भएका छन् । उनीहरुको कन्तबिजोग भएको छ । अब बचतकर्ताहरुको पनि उठीबास लाग्ने भयो ।
आफ्नो पहुँच ठूल्ठूला व्यक्तित्वहरुसंग भएको सिन्सियरले बताउँदै आएको छ । माथिको साथ र सहयोगले आफूलाई हल्लाउन नसक्ने दाबी सिन्सियरको छ । सिन्सियरले ठगीधन्दा मच्चाउँदा पनि सहकारी विभाग, सहकारी मन्त्रालय र काठमाडौं महानगरपालिका टुलुटुलु हेरेर बसेको छ । सिन्सियरको अगाडि सरकार नै निरीह भएको छ । जसका कारण ऋण खाने र बचत गर्ने दुवै लुटिएका छन् । सरकार लाचार बन्दा सिन्सियरमा भएको बचतकर्ताको तीन अर्ब ३५ करोड रुपैयाँ डुब्दै ।

अनुसा थापा
भक्तपुर

प्रतिक्रिया दिनुहोस्