काठमाडौं। आगामी बजेट २०८०/८१ मा आयोजना पेस गर्न प्रदेश सरकारलाई एक महिना समय थप हुने भएको छ। प्रदेश सरकारले पूर्णता पाउन समय लागेपछि संघले म्याद थप गर्न लागेको हो।

राष्ट्रिय योजना आयोगले आयोजना पेस गर्न पुस मसान्तसम्मको समय तोकेको थियो। यो समयमा प्रदेश सरकारहरुले पूर्णता नपाएपछि एक महिना म्याद थप गर्न प्रस्ताव गरेको हो। म्याद थपका लागि योजना आयोगले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आयोगको पत्र अनुसार मन्त्रालयले समपूरक अनुदान र विशेष अनुदानसम्बन्धी कार्यविधि २०७७ संशोधन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको छ। प्रस्ताव स्वीकृत भएपछि प्रदेशले माघ मसान्तसम्म आयोजना पेस गर्ने समय प्राप्त गर्नेछन्। यसअघि आयोगले मंसिर १९ गते सूचना जारी गर्दै पुस मसान्तसम्म आयोजना पेस गर्न भनेको थियो। संघ सरकारले चार शीर्षकमा प्रदेशलाई अनुदान उपलब्ध गराउँछ। जसमा ससर्त अनुदान, समानीकरण, ससर्त र समपूरक अनुदान छन्।
प्रस्ताव पेस गर्दा प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेस गर्नुपर्नेछ। म्याद थप प्रदेश सरकारका लागि मात्रै गर्न लागिएको हो। संघीय सरकारले हरेक वर्ष समपूरक र विशेष अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउँदै आएको छ।
यस्तो अनुदानबाट खर्च ब्यहोर्ने योजना तथा कार्यक्रम तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्छ। तीन वर्षभन्दा बढी समय लाग्ने बहुवर्षे आयोजनाका लागि यो शीर्षकअन्तर्गत बजेट जाँदैन। प्रदेश सरकार र स्थानीय तहले यी शीर्षकमा अनुदान पाउने र खर्च गर्न पाउने रकमको सीमा पनि तोकिएको छ। समपूरक अनुदान दिनका लागि गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजनारकार्यक्रमको कूल लागत अनुमान न्यूनतम एक करोडदेखि अधिकतम १० करोड रुपैयाँसम्म छ।
यस्तो अनुदान लिनका लागि प्रस्ताव गरिएका योजना तथा कार्यक्रमले निश्चित प्रक्रिया पूरा गर्नुपर्छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर०, वातावरणीय प्रभाव मूल्यांकन ९इआइए०, लागत अनुमान, आयोजना सम्पन्न हुने अवधि लगायतका विवरण अनिवार्य रुपमा प्रस्तावसँगै पेस गर्नुपर्ने पनि आयोगले जनाएको छ। समपूरक अनुदान पाउने योजना तथा कार्यक्रमका लागि कूल लागतको ५० प्रतिशत सम्बन्धित स्थानीय तह वा प्रदेशले व्यहोर्छ भने ५० प्रतिशत रकम संघीय सरकारले उपलब्ध गराउँछ।




प्रतिक्रिया दिनुहोस्