दुवईमा ८२ करोड रुपैयाँको चिट्ठा जित्ने रञ्जितकुमार भन्छन्,‘भाग्यमा विश्वास त गर्दिनँ तर पनि’

आर्थिक लाइभ
आर्थिक लाइभ २३ माघ २०७९, सोमबार
3 Min Read
Aa

सिरहाको गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि एक रेमिट कम्पनीको प्रतिनिधि भएर कतार पुगेका थिए। उनी भाग्यमा ‘त्यति धेरै विश्वास’ गर्दैनन्। तर, ‘जितिहालिन्छ कि’ भनेर १५ महिनादेखि चिट्ठा किन्न थाले। उनले अन्ततः २३ मिलियन दिराम अर्थात् ८२ करोड रुपैयाँबराबरको चिट्ठा जितेको हो।

पाल अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २ सय ४८ औं विजेता बनेका हुन्। बिग टिकटका प्रतिनिधिबाट चिट्ठा परेको खबर सुनेर आफू निकै खुसी भएको पालले बताए। उनी कतारकै सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत छन्। ‘म ड्युटीमा थिएँ। काम गर्दै बिग टिकटको प्रत्यक्ष प्रसारण हेरिरहेको थिएँ। त्यही बेला एक जना ग्राहक आए। म काममा व्यस्त भएँ’, उनले भने, ‘त्यही बेला मैले २३ मिलियन दिराम जितेछु। बिग टिकट कम्पनीले पनि फोन गरेछ। मैले त थाहा नै पाइनँ। पछि फेरि फोन आयो। साथीहरूले पनि सुनाए। हर्षको सीमा छैन।’

भाग्यमा त धेरै विश्वास गर्दिनँ। तापनि, जितिहालिन्छ कि भनेर १५ महिनादेखि लगभग लगातार बिग टिकट किन्ने गरेको थिएँ। साथीहरूसँग मिलेर पैसा उठाइ टिकट खरिद गरेका थियौं। ‘हामीले यसपटक तीनवटा टिकट किनेका थियौं। दुईवटा किन्दा एउटा फ्रीमा पायौं’, उनले भने, ‘जितेको पैसा सबै जना मिलेर बाँड्ने हो। पैसा कानुनी तवरले नेपाल नै पठाउने हो। अलिक पछि नेपालमै केही गर्ने योजना बनाउँछु। अहिले के गर्ने भनेर केही सोच्न सकिरहेको छैन।’

ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए। उनका अनुसार एउटा टिकटको ५ सय दिराम पर्छ। ‘भाग्यमा त धेरै विश्वास गर्दिनँ। तापनि जितिहालिन्छ कि भनेर चिट्ठा किन्ने गरेको छु’, उनले भने, ‘१५ महिनादेखि लगभग लगातार बिग टिकट किन्ने गरेको थिएँ। १५– २० जना साथीसँग मिली पैसा उठाएर टिकट खरिद गर्ने गरेका थियौं। घरमा उनका बुवा, आमासहित १० र पाँच वर्षका २ छोरा छन्। परिवारका सदस्य सबै जना दंग रहेको उनले सुनाए। अहिले नै घर फर्कने योजना नबनाएको उनको भनाइ छ। ‘पहिले पैसा हातमा आओस अनि बिस्तारै योजना बनाउनुपर्ला’, पालले भने, ‘अरू एक–दुई वर्ष कतारमै बस्छु।’

बिग टिकट यूएईको अबुधाबीमा मासिक रूपमा खोलिने चिट्ठा हो। जहाँ हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ। यसअघि पनि दुबईमा खोलिने महजुज चिट्ठामा गुल्मीका भरत बिकले १० मिलियन दिराम अर्थात् ३५ करोड रुपैयाँ जितेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array