सभामुखका लागि मनोनयन दर्ता हुँदै, सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको उम्मेदवारी

आर्थिक लाइभ
आर्थिक लाइभ ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो । सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेबाट देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ ।

त्यस्तै सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेसले पनि सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array