नबिल बैंकको दक्ष प्रवासी उद्यमशील कर्जा योजनामा १५ लाख देखि १ करोड सम्म ऋण पाइने

आर्थिक लाइभ
आर्थिक लाइभ ११ माघ २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौं । नबिल बैंकले प्रवासी नेपाली र उनीहरुको परिवारलाई लक्षित गरी ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारबाट नेपाल फर्किएर उद्यम पेसामा संलग्न भएका साथै उद्यम विस्तार गर्न इच्छुक मानिसहरुलाई लक्षित गरी सो योजना ल्याएको हो । बैंकले यस कर्जा योजना मार्फत विदेशबाट फर्किएर नेपालमै उद्यम गर्ने लक्ष्य लिएका मानिसहरुलाई सरल धितोमा न्युनतम १५ लाख देखि १० करोड सम्मको ऋण उपलब्ध गराउने छ ।

दक्ष प्रवासी उद्यमशील कर्जा योजना अन्तर्गत बैंकले उपलब्ध गराउने १५ लाख देखि १ करोड सम्मको कर्जाको सीमा विभिन्न चरणमा वर्गीकरण गरेको छ । बैंकले घरेलु तथा साना उद्यम सञ्चालन गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा प्रदान गर्नेछ । यस्तै साना तथा लघु उद्योगमा लगानी थप गरी उद्योग विस्तार गर्न चाहने मानिसलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिनेछ ।

यसका साथै वैदेशिक रोजगारबाट फर्किएका नेपाली तथा उनको परिवारले सञ्चालन गरिरहेको उद्योगमा लगानी थपेर व्यवसायको आकार बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्मको कर्जा सुविधा बैंकले प्रदान गर्नेछ । कर्जा प्राप्त गर्नका लागि वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकहरुले नागरिकताको प्रतिलिपि, नाफामुखी उद्यमका रुपमा नेपालमा रजिष्टर गरेको उद्यमको कागजपत्र पेस गरी देशभर रहेका बैंकका २६६ शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । ग्राहकले कागजपत्र पेस गरेको ३-५ कार्यदिनमा ऋण प्राप्त गर्ने बैंकको दाबी छ ।

उक्त कर्जाको ब्याजदर बैंकको बेसरेटमा १.५ प्रतिशत थप गरी लिइने छ । हाल नबिल बैंकको बेसरेट ९.०७ प्रतिशत रहेको छ, जसमा १.५ प्रतिशत थप गरी १०.५७ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन् । तथापि बैंकको बेसरेट तलमाथि हुँदा कर्जाको ब्याजदर घटबढ हुनेछ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।

बिहीबार विधिवत् रुपमा कर्जा योजनाको आरम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा टेवा पु¥याउँदै आएका प्रवासी नागरिकहरुलाई देशमै रोजगारी सिर्जना गर्ने अवसर यस कर्जा योजनाले दिने बताए । बैंकको यस कदमले वैदेशिक रोजगारबाट फर्किएका मानिसहरुलाई उद्योग, व्यवसाय सञ्चालन गरी आन्तरिक उत्पादकत्व बढाउन सघाउने ढुङ्गानाको विश्वास छ ।

पछिल्लो तथ्यांक अनुसार सन् २०२३ मा १६ लाख नेपाली विदेशिएका छन् । जसअन्तर्गत ८ लाख ८ हजार मानिसहरु वैदेशिक रोजगारीका लागि गएको अध्यागमन विभागले जनाएको छ । वैदेशिक रोजगारमा गएका मानिसहरुले आफ्नो देश फर्किँदा आफुसँग सीप, पुँजी र कार्य सम्पादन शैली लिएर फर्किने भएकाले उक्त सीप र पुँजीको परिचालनमा नबिल बैंकले सार्वजनिक गरेको दक्ष प्रवासी उद्यमशील कर्जाको भूमिका उल्लेखनीय रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिङ भन्डारीले बताए ।

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरुको सङ्ख्या पनि बढ्दै गएकाले नेपालमा फर्केर उद्यम गर्न चाहने र आफूले सिकेको सीपको उपयोग गर्न चाहनेहरुका लागि नबिल बैंकको दक्ष प्रवासी उद्यमशील कर्जा योजना सहयोगी बन्ने बताए ।

यस्तै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दक्ष प्रवासी उद्यमशील कर्जा योजनाबाट बैंकले नाफा कमाउने उदेश्य नराखेको बताए । उनले यो कर्जा योजनालाई दीर्घकालीन रुप दिन सरकार तथा वैदेशिक रोजगारबाट फर्किएका मानिसहरुको पुर्नउत्थानका लागि काम गर्दै आएका विभिन्न संघसस्थाहरुलाई सघाउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

Array