मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा: गभर्नर अधिकारी

आर्थिक लाइभ
आर्थिक लाइभ २३ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न चुनौतीकाबीच मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको र यसलाई थप गतिशिल बनाउन जरुरी भएको उल्लेख गरेका छन् । उनले आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने क्षेत्रमा बैंकिङ क्षेत्रका स्रोतसाधनलाई पूर्णरुपमा पुनर्संरचना गर्ने बेला आएको भन्दै दिगो आर्थिक वृद्धि हासिल गर्न जरुरी रहेको बताए ।

आजदेखि सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्लेख गर्दै मुलुकको मुद्रास्फीति अझै पनि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहेको बताए । उनले केही उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूले अझै पनि उच्च मुद्रास्फीतिको सामना गरिरहेको बताए । उनले भने, “मध्यपूर्वमा भर्खरै बढ्दो इजरायल–हमास युद्ध र लामो समयसम्म रुस–युक्रेन संकटले मूल्य स्थिरता कायम राख्न चुनौती खडा गरेको छ ।

फलस्वरूप, धेरै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कडाइ जारी राखेका छन् । जसले गर्दा लामो समयसम्म उच्च ब्याजदरको सामना गरेनुपरेको देखिन्छ ।” नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै गभर्नर अधिकारीले डिजिटल बैंकिङ प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । एसियाली बैंकहरुले खराब कर्जा वृद्धि हुन नदिन सम्भावित जोखिमलाई आत्मसाथ गरेर व्यवस्थानलाई प्रभावकारी बनाउनुपर्ने खाँचो औंल्याए ।

गभर्नर अधिकारीले द्रुत प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीमा धेरै फाइदा पुगेको र यसले बैंकिङलाई व्यवसायमा रूपान्तरण गरिरहेको भन्दै यसको दिगोपनाका लागि सहज रहनुपर्नेमा जोड दिए । एसियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले एसियन मुलुकको समग्र अर्थतन्त्रको दिगोपनाका लागि सहकार्यका साथ प्रभावकारी योजना कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । उनले एसियाली बैंकको आगामी रणनीतिबारे अवधारणा बनाउन सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल बैंकर सङ्घका अध्यक्ष सुनील केसीले नेपालमा पहिलो पटक आयोजना भएको एसियन मुलुकका बैङकका सिइओसहितको सम्मेलनले नेपाली बैंकिङ क्षेत्रलाई चुनौतिपूर्ण परिस्थितिबाट उठेर आगामी दिनमा कसरी प्रभावकारी भूमिका खेल्ने भन्नेबारे दीर्घकालीन रणनीति तय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपाल बैंकर सङघ र एशियन बैंकर सङघको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनमा सदस्य १८ देशका ६० भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस्

Array