धनकुटाका किसानलाई हतारमा एभोकाडो नटिप्न आग्रह

आर्थिक लाइभ
आर्थिक लाइभ २३ आश्विन २०८०, मंगलवार
3 Min Read
Aa

धनकुटा । धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह गरेको छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो । धनकुटाका अधिकांश घरमा एभोकाडो लगाइएको छ । तर, सिजन अगावै बजारमा छ्यापछ्याप्ती एभोकाडो पुर्‍याइएपछि त्यसले धनकुटाको ब्राण्डिङ समस्या हुने बुझाइका साथ किसानलाई सार्वजनिक सूचनामार्फत जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए ।

‘कलिलो र कमगुणस्तरको फल टिपेर बिक्रि वितरण गरेको पाइएपछि उपभोक्ताबाट गुनासो आयो’ राइले भने- ‘एभोकाडोको गुणस्तरमै प्रश्न उठ्ने भएपछि फल परिपक्व भएपछि मात्रै बजारमा पुर्‍याउन किसान, व्यापारी र उद्यमीलाई अनुरोध गरिएको हो ।’
उनका अनुसार सार्वजनिक सूचनासँगै एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे किसानलाई जानकारी दिइएको छ । यसले कलिलैमा फल छिटो बजार पुर्‍याउने कार्यलाई निरुत्साहित गर्ने धनकुटा नगरपालिकाले विश्वास लिएको छ ।

पालिका भित्र रामाे उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडो राजधानी घोषणा गरेको थियो । फलको नामबाट उत्सव मनाएको पालिकाले यसअघि यसको सम्भाव्यता अध्ययन गरी किसानको आर्थिक उपार्जनमा टेवा पुग्ने यकिन गरेरै कार्यक्रम घोषणा गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । उनका अनुसार सुरु वर्षमा १९ सय ६३ घरधुरीबाट सुरु भएको एभोकाडो खेती हाल ४ हजार ९ सय २६ परिवार यो खेतीमा आबद्ध छन् । पालिका भित्र ४ हजार ४० रोपनीमा भइरहेको खेती विस्तार भएर १२ हजार ९९ सय रोपनीमा पुगेकाे छ ।

अधिकारीका अनुसार २०७५ सालमा नगरपालिका भित्रबाट २३ लाख ३२ हजारको एभोकाडो बिक्रि भएको तथ्याङ्क थियो भने २०७८ सालमा ३ करोड १९ लाखको एभोकाडो बिक्रि भएको थियो । एक पटक रोपेपछि वर्षौंसम्म उत्पादन दिने यस फलप्रति किसानहरूको आकर्षण बढिरहेको उनले जानकारी दिए । तर, खेती बिस्तारसँगै एभोकाडो फल र बोटमा समस्या समेत देखिन सुरु भएको छ । त्यसको दीर्घकालीन रोकथामका लागि पालिकाले पाख्रिबास स्थित कृषि अनुसन्धान केन्द्रसँग रोग किरा व्यवस्थापनका लागि समन्वय गरिरहेको अधिकारीले जानकारी दिए ।
उनका अनुसार पालिका क्षेत्र भित्रका किसानलाई एभोकाडोको नर्सरी व्यवस्थापन देखि बिरुवा र एभोकाडो जुस पसल सञ्चालन गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । धनकुटाको एभोकाडो धरान, इटहरी, विराटनगरसँगै काठमाडाैंको बजारसम्म पुग्ने थालेका छन् । अहिले व्यवसायीले किसानको बगैँचामै पुगेर एभाेकाडाे खरिद गर्न थालेकाे आर्थिक विकास अधिकृत अधिकारीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array