खर्च गर्ने प्रवृत्ति बढी भयो : गभर्नर

आर्थिक लाइभ
आर्थिक लाइभ ६ चैत्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन् । सोमबार ‘ग्लोबल मनी विक–२०२३’ को उद्घाटन गर्दै गभर्नर अधिकारीले राष्ट्रिय आयसँग दाँजेर हेर्दा हाम्रो बचतको प्रवृत्ति कमजोर रहेको बताए ।
बचत गर्ने बानीको विकास गर्नुपर्ने र बचतले नै लगानी र आम्दानीको बाटो देखाउने उनले बताए । ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने नाराका साथ सुरु भएको ग्लोबल मनी विक २०२३ कार्यक्रममा युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको गभर्नर अधिकारीले बताए ।
बैंकिङ, पूँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान/सीपलाई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीहरूलाई आग्रह गरे । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो एघारौं संस्करण हो।

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको थियो । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

१२ चैतसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने राष्ट्र बैंकले जनाएको छ । अभियानअन्तर्गत बैंकिङ/वित्तीय, पूँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array