‘आर्थिक स्थायीत्वका लागि ब्याजदरमा ‘लकअप’ प्रणाली आवश्यक’

आर्थिक लाइभ
आर्थिक लाइभ २१ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायीत्वका लागि ब्याजदरमा ‘लकअप’ प्रणाली लागु गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले ‘लकअप’ प्रणालीमा जानुपर्ने बताएका हुन् । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ थियो ।

दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधी ठप्प भएको बताए । ‘ब्याजदर १५÷१६ प्रतिशतसम्म कायम छ, ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ,’ अध्यक्ष मल्लले भने ।

बैंक वित्तीय संस्थाले आधार दरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरु मर्कामा परेको उनको भनाइ थियो । आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायीत्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक रहेको उनले बताए ।

उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमाफर्त नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्नुपर्ने उनको जोड थियो । कृषि, पर्यटन, एवं साना उद्योगलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको माग थियो । फरक प्रसंगमा अध्यक्ष मल्लले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भएपनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताए ।

दोलखामा सामूहिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्न सकिने स्थान रहेकाले जिल्लामा उत्पादित कृषि उपजहरुको बजारीकरणका लागि दोलखा चेम्बर अफ कमर्सले समन्वय गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array