आफ्नो सिमकार्ड हराए, बिग्रिए आफैँ उपस्थित भएर नयाँ कार्ड लिन टेलिकमको आग्रह

आर्थिक लाइभ
आर्थिक लाइभ ५ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सिमकार्ड हराएमा वा बिग्रिएमा आफैँ टेलिकमको कार्यालयमा उपस्थित भएर नयाँ सिमकार्ड लिन आग्रह गरेको छ। ग्राहकहरुको सुरक्षामा विशेष ध्यान दिंदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा आवश्यक मापदण्डहरु कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ।
यसअनुसार नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्नुपर्ने टेलिकमको भनाइ छ।
कम्पनीका अनुसार स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइने र परिचयपत्रको प्रतिलिपिलाई सक्कल परिचय पत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिनेछ।
सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयं उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको÷नभरेको जाँचपश्चात् ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुनेछ।
ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरिनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय पत्र देखाई सोको प्रतिलिपि रीतपूर्वक भरिएको फरामसाथ संलग्न गर्नुपर्छ।
कागजात रुजु कार्य सम्पन्न भएपश्चात सिमकार्ड परिवर्तन हुन्छ। सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्ति आ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय पत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयं उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ।
कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचय पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय पत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने टेलिकमले जनाएको छ।
वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याई गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array