तीन राजनीतिक दलका चुनावी घोषणापत्रः यस्ता छन् आर्थिक एजेण्डा

आर्थिक लाइभ
आर्थिक लाइभ १५ कार्तिक २०७९, मंगलवार
5 Min Read
Aa

काठमाडौं ।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् । सोमबार तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिवद्धता जाहेर गरेका हुन् । तीनै पार्टीले कृषि,रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको घोषणापत्रमार्फत् वित्तीय संघीयता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने घोषणा गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको बताए । उनले नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने बताए । प्रचण्डले अर्थ प्रणाली सामान्य तरिकाले परिर्वतन हुन सम्भव नभएको बताए ।

वैदेशिक सैन्य गठबन्धन नगर्ने,दुई अंकको आर्थिक वृद्धि गर्ने,कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने,कृषि योग्य जमिन बाँझो राख्ने प्रणालीको अन्त्य गर्ने,सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्ने प्रचण्डले प्रतिवद्धता व्यक्त गरे ।

उनले किसानलाई बाली लगाउनुभन्दा अगाडि मल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले रासायनियक मलको प्रयोग कम गर्न जैविक र प्राङ्गारिक मल उत्पादन गरी जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताए ।

कृषि उत्पादनको उचित मूल्य तोक्ने र प्रत्येक प्रदेशमा दुईवटा औधोगिक केन्द्र स्थापना गर्ने माओवादीले घोषणापत्रमा उल्लेख गरिएको छ ।

हरेक पालिकामा एक औद्योगिक ग्राम निर्माण गर्ने,वैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारी र उद्योग खोल्न छुटको व्यवस्था गर्ने प्रतिवद्धता माओवादीले जनाएको छ ।

सरकारी कार्यालयहरुमा नेपाली उत्पादन अनिवार्य गर्ने माओवादीको घोषणापत्रमा उल्लेख गरिएको छ । १० लाख युवाहरुलाई रोजगारी दिइ २० लाख युवालाई स्वरोजगार बनाउने घोषणा प्रचण्डले गरे ।

माओवादीले घोषणापत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ । त्यस्तै, गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतताकासाथ अघि बढाइने उल्लेख गरेको छ ।

पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गरिने घोषणा गरेको छ । ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना समेटिएको छ । कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२ महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन ल्याउन पहल गर्ने नेकपा एसका महासचिव डा.वेदुराम भुसालले घोषणापत्र सार्वजनिक गर्दै उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बिस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुनेगरी बिस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने नेकपा एसले घोषणापत्रमा उल्लेख गरेको छ ।

वाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाइने एसको घोषणा छ ।
५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

भुसालले मुलुकमा उत्पादनमूलक, रोजगारीमुलक उच्च प्रतिफलयुक्त क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिक ऋण परिचालन गरिने उल्लेख गरे । उनले नेपालको पछौटेपन, आयात आधारित राजश्वको मुल स्रोत,डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्ति नेपालमा नै स्वरोजगार बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ५ वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरु वृद्धि गरी उपभोग तथा वचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्‍याउने प्रतिवद्धता सार्वजनिक गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाइने घोषणा गरे ।

प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्री कानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याउने राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

करको संरचना र दरमा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाइने उल्लेख उनले उल्लेख गरे ।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाईने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाउने राप्रपाको घोषणापत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array