ऋणको प्रेसरले अस्ताए न्यूरोडका व्यापारी

आर्थिक लाइभ
आर्थिक लाइभ २४ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं ।  बैंकहरुले निरन्तर ब्याज तिर्न प्रेसर दिएपछि न्युरोडका एक व्यापारीले आत्महत्या गरेका छन् । बैंकको ऋण तिर्न नसकेको र आफ्ना सामान उत्तरी नाकामा अड्किएपछि व्यवहार बिग्रिएको भन्दै न्युरोड रन्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले प्राण त्यागेका हुन् ।
उनले व्यवसाय बिग्रिएपछि प्राण त्याग गरेको र यसमा राज्यको नीति दोषी भएको भन्दै बिहीबार रन्जना मलका व्यवसायीहरुले एक कार्यक्रम गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

बैंकको ब्याज महँगो भएको, सहकारीले आफ्नो पैसासमेत झिक्न नदिएको र आफ्नो सामान नाकामा अड्किएका कारण व्यापारीले आत्महत्या गरेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनीहरुको तर्क थियो । घिमिरेले बैंक, र सहकारीबाट ऋण लिएर व्यवसाय गर्दै आएका थिए ।

व्यवसायीहरुलाई एकिन रुपमा थाहा नभएपनि उनको बैंकमा ठूलो ऋण छ । उनी विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर ऋण लिइरहेका थिए । उनी मासिक ४० हजार बढी सटर भाडा नै तिर्थे । तर, पछिल्लो समय भने आम्दानी कम हुने र ऋण भार यथावत नै रहेको कारणले उनलाई आर्थिक समस्याले थप समस्यामा पार्यो ।

उनलाई एक बैंकले ऋणको ब्याज तिर्न ताकेता गरिरहेको थियो । तर, उनले सो बैंकलाई ५ लाख रुपैयाँ तिर्नुपर्ने भयो । रन्जना व्यापार संघकी अध्यक्ष बिना श्रेष्ठ यस विषयमा सरकार गम्भीर नभए अरु व्यवसायीहरुको पनि यस्तै अवस्था आउन सक्ने बताउनुहुन्छ ।
घिमिरे बिगत लामो समयदेखि सो स्थानमा व्यापार गर्दै आएका थिए । पछिल्लो समय उनी लगायतका व्यवसायीहरुको करोडौँको सामान उत्तरी नाकामा अड्किएको छ ।
जयन्ती व्यापार संघका अध्यक्ष समिर यादवले कहीं पनि नभएको ब्याज नेपालका बैंकहरुले लिँदा व्यवसायीहरुलाई अफ्ट्यारो परेको बताउनहुन्छ ।
उहाँले बैंकहरुले ८ प्रतिशतमा दिएको ब्याजलाई अहिले १६ प्रतिशतसम्म पुर्याएकै कारण व्यवसायीहरु ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका हुनाले अहिलेको स्थिति आएकोसमेत बताउनुहुन्छ ।
रन्जना व्यापार संघका पूर्व अध्यक्ष अन्जन शाक्यले यस्ता घटना पहिलोपटक नभएको भन्दै सरकारले व्यवसायीका समस्यामा अव पनि ध्यान नदिए व्यवसायीहरु थप समस्यामा पर्ने बताउनुभयो ।
कोभिडपछि झन् विकराल बनेको स्थिति तत्काल समाधान हुने स्थिति देखिएको पनि छैन ।
बैंकको ब्याज तिर्न नसक्दा घिमिरे लामो समयदेखि मानसिक तनावमा थिए । दशैंको मुखमा नेपाल आउनुपर्ने सामान उत्तरी नाकामा रोकिएकै कारण उनी थप तनावमा रहेको परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array