असोज पहिलो साताबाट सुपथ पसल

आर्थिक लाइभ
आर्थिक लाइभ १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । सरकारले दसैँ–तिहार लक्षित सहुलियत पसल असोजको पहिलो साताबाट सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै अत्यावश्यक वस्तु बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानबाट संयुक्त रूपमा सहुलियत पसल सञ्चालन हुने खाद्य व्यापार कम्पनीले जनाएको छ ।
सरकारले उपभोक्तालाई चाडपर्वको समयमा सहुलियत दरमा अत्यावश्यक खाद्यान्न पुर्‍याउने उद्देश्यले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
हरेक वर्षजस्तै सहुलियत पसलका लागि मन्त्रालयले खाद्य व्यापार कम्पनीलाई अनुदानस्वरूप करिब ६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
गत वर्ष साल्ट टे«डिङले उपत्यकाको ११ सहित ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । खाद्य कम्पनीले उपत्यकामा पाँच स्थानमा र उपत्यकाबाहिर १८ स्थानमा गरी कुल २३ वटा स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । डिडिसीले उपत्यकाभित्रका चार र उपत्यकाबाहिर ११ गरी १५ वटा सहुलियत पसल सञ्चालन गरेको थियो । गत वर्ष सहुलियत पसलमा चिनी प्रतिकिलो पाँच रुपैयाँ, नुन प्रतिकिलो दुई रुपैयाँ, घिउ प्रतिकिलो ५० रुपैयाँ, खसी–बोकामा प्रतिकिलो १० रुपैयाँ छुटसहित उपलब्ध थियो । यो वर्ष भने सहुलियत पसलमा चिनी उपलब्ध हुनेछैन ।
यसपटको दसैँ–तिहारका लागि खाद्य व्यापार कम्पनीले ६ करोड ४० लाखको तीन हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । गत वर्ष दुई हजारभन्दा बढी खसी र एक हजार च्यांग्रा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array