महंगियो नेपाली भान्छा

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ श्रावण २०७९, मंगलवार
3 Min Read
Aa

आर्थिक लाइभ संवाददाता
काठमाडौं । एक वर्षको अवधिमा नेपाली भान्सा दोब्बरले महंगिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपभोक्ता मुद्रास्फीति दोब्बर प्रतिशत विन्दुले बढेको हो ।

गत २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो भने २०७८ असार महिनामा ४.१९ प्रतिशत थियो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८÷७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुग्यो ।

यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरुमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा सीमित रहयो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८÷७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः १५.८२ प्रतिशत, ८.७८ प्रतिशत, ७.०९ प्रतिशत र ६.६८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.०० प्रतिशत रहेको थियो । २०७९ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत मुद्रास्फीति भने ६.८९ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ५.८१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति २.५१ प्रतिशत रहेको थियो । २०७९ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत मुद्रास्फीति ९.०३ प्रतिशत रहेको छ । २०७८ असार महिनामा यस्तो मुद्रास्फीति २.९४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५.७३ प्रतिशत, तराईमा ६.४१ प्रतिशत, पहाडमा ६.८७ प्रतिशत र हिमालमा ६.०७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ३.३३ प्रतिशत, ३.६८ प्रतिशत, ३.८७ प्रतिशत र २.८७ प्रतिशत रहेको थियो ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2078.79-1

प्रतिक्रिया दिनुहोस्

Array