अत्याधिक बढ्यो महंगी

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ भाद्र २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको साउन महिनाको हिसाबकिताबको विश्लेषण आज भदी ३० गते प्रकाशित गरेको छ । यो हिसाबकिताब अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (सामान्य भाषामा भन्दा महङ्गी) ८.२६ प्रतिशत रहेकोछ ।

  • साउन महिनमा आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेकोछ ।
  • नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा रहेको छ ।
  • कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ ।
  • संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रहेकोछ ।
  • विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेकोछ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.० प्रतिशतले घटेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतलेघटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११.८ प्रतिशत रहेकोछ ।

उपभोक्ता मुद्रास्फीति

नेपाल राष्ट्र बैंकको साउन महिनाको हिसाबकिताब अनुसार  आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ। २०७९ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । यही अवधी अर्थात सन् २०२२ अगष्ट महिनामा भारतको यस्तो मुद्रास्फीति ७.०० प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैकका अनुसार २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमश: १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैकका अनुसार, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमश: २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैकका अनुसार साउन महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमश: ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array