गौतमश्री सहकारीलाई मन्त्रालयको स्पष्टीकरण

आर्थिक लाइभ
आर्थिक लाइभ २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
करिब ५ हजार सदस्यको ७ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएकाले उजुरी परेपछि सहकारी विभागले गत साउन १८ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा उक्त सहकारीलाई १५ दिनको समय दिएर स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने निर्णय भएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताए । ‘सहकारीले बुधबार नै मन्त्रालयको पत्र बुझेको छ,’ उनले भने, ‘जवाफ पेश गर्न १५ दिनको समय दिइएको छ । तोकिएको समयमा चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने मन्त्रालयको तयारी छ ।’

करिब डेढ महिनाअघि सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरु फरार भएपछि बचतकर्ताले आफूहरुको बचत फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी दिएका थिए । जसअनुसार बुधबारसम्म उक्त सहकारीका बचतकर्ताहरुबाट करिब १४ सयभन्दा बढी उजुरी परेको छ । ती उजुरीका आधारमा सहकारी विभागले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array